दफा १०३
मुद्दाको तहकिकात र दायरी
(१) दफा ९१, ९४, ९५, ९६, ९७, ९८, ९९ र १०० मा उल्लिखित कसूर कसैले गरेको छ भनी कसैको उजुरी परेमा वा कुनै व्यहोराले त्यस्तो कसूर सम्बन्धी जानकारी बोर्डले प्राप्त गरेमा वा कसैले त्यस्तो कसूर गरेको कुरामा बोर्ड विश्वस्त भएमा त्यस्तो कसूर सम्बन्धी मुद्दाको तहकिकात गर्न बोर्डले कुनै अधिकृतलाई तहकिकात गर्ने अधिकारी तोक्नेछ । (२) उपदफा (१) बमोजिम तोकिएको तहकिकात गर्ने अधिकारीले त्यस्ता कसूरका सम्बन्धमा तोकिए बमोजिम तहकिकात गरी तहकिकातको काम पूरा भएको मितिले पैंतीस दिनभित्र सम्बन्धित जिल्ला अदालतमा मुद्दा दायर गर्नेछ । (३) उपदफा (१) बमोजिम तोकिएको तहकिकात गर्ने अधिकारीले तहकिकातको सिलसिलामा कसूरसँग सम्बन्धित व्यक्ति वा संस्थासित आवश्यक सोधपूछ गर्न, बयान लिन वा आवश्यक कागज, विवरण तथा अभिलेख माग गर्न सक्नेछ । (४) यस दफा बमोजिम मुद्दाको तहकिकात र दायर गर्दा तोकिएको तहकिकात गर्ने अधिकारीले सरकारी वकीलको राय लिनु पर्नेछ ।